नवलपुरमा बाबुसँगको झगडापछि छोराले गरे आफ्नै सवारी साधनमा आगजनी

नवलपुर, फागुन १९ गते । नवलपुरको गैँडाकोट नगरपालिकामा बाबुछोराको घरायसी विवादका कारण आगजनी भएको छ । गैँडाकोट नगरपालिका–४ इटाभट्टा बस्ने ७५ वर्षीय टोप बहादुर थापा र उहाँका ४१ वर्षीय छोरा नारायण थापाबीच घरायसी विवादका क्रममा झै–झगडापछि आगजनी भएको नवलपुर प्रहरीले जनाएको छ ।

झगडाकै क्रममा छोरा नारायण थापाले आफ्नै घरअगाडि पार्किङ गरी राखिएको प्रदेश २–०३–००१ त ३१९३ नम्बरको ट्याक्टर र घरपछाडी रहेको लु २८ प ७०३० नम्बरको मोटरसाइकलमा आगो लगाई फरार भएका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । विवादको कारण भने खुलिनसकेको खड्काले बताए । ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको खड्काले बताए । आगलागीमा संलग्न फरार व्यक्ति नारायण थापाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।