नवलपुर, फागुन १९ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मौन अवधि सुरु भएका कारण नवलपुरसहित तराईका जिल्लाहरुमा होली पर्वको रौनक घटेको छ । विगत वर्षहरुमा रङ, अबिर र पानीले रमाइलो गर्दै समूह–समूहमा नाचगानसहित उत्सव मनाउने गरिएको भए पनि यो वर्ष निर्वाचनको मौन अवधि सुरु भइसकेकाले होलीको रमझम कम भएको हो ।
होलीका कारण यो वर्ष साना–साना समूहमा बालबालिकाबाहेक अन्य उमेर समूहका व्यक्तिहरूको उपस्थिती खासै देखिएको छैन । प्रहरीले मौन अवधि सुरु भइसकेकाले ठूलो समूहमा उपस्थित हुन र होहल्ला तथा नाँचगानमा प्रतिवन्त्र लगाएकाले पनि यो पटक होलीको रौनक घटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक युवराज खड्काले बताए । मतदाताहरु आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा लागेकाले पनि यो पटक होली मनाउनेहरु पातलो संख्यामा मात्र बाहिर निस्केको प्रहरीको भनाइ छ ।
फागुन १८ गते काठमाडौं उपत्याकासहितका पहाडी जिल्लाहरूमा र आज १९ गते तराई क्षेत्रमा होली मनाउने प्रचलन छ । निर्वाचन आचारसँहिता अन्तर्गत फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मौन अवधिमा कुनै पनि प्रकारका प्रचारात्मक गतिविधि सञ्चालन गर्न आचार सँहिताले प्रतिवन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले पनि उम्मेदवार तथा राजनीतिक दलहरूलाई कुनै पनि प्रकारका सभा, गोष्ठी, बैठक, जुलुस तथा प्रचारप्रसारका कार्यक्रम नगर्न निर्देशन दिएको छ । मौन अवधिका कारण सवारी साधनको चापसमेत घटेकोे छ ।
सडकमा दुई पांग्रे र चार पांग्रे गाडीहरु पातलो चलेपनि ठूला मालवहाक तथा यात्रुवहाक गाडी कम मात्रै चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । होलीमा हुन सक्ने अवान्छित गतिविधि रोक्न प्रहरी चेक जाँचलाई पनि कडा बनाइएको प्रहरीको भनाइ छ ।










