राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टिम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो ।

हिजो बुधवार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो । हिजो भएको छलफल अनुसार, आज पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल सुरु गरेका हुन् । प्रधानमन्त्री कार्यालयबाट डाटाबेस विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए ।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने प्राविधिकरुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो । त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकसँग प्रधानमन्त्री कार्यालयको टोलीले समस्याका बारेमा भिडियो कन्फ्रेन्समार्फत कुराकानी गरेको थियो । कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीको प्राविधिक समस्याका कारण सयौं नेपालीले समस्या झेल्नुपरेकोले सम्झौता अनुरूप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो ।