भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख राघभप्रसाद पत्रकार भेटघाटमा व्यस्त

नेपालमा आफ्नो प्रभाव बढाउन यहाँका विभिन्न संयन्त्रलाई चलाउने गरेको भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख राघभप्रसाद भट्नागरले विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई भेटेका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रत्यक्ष चासो राख्दै आएको भारतीय दूतावासलाई सघाउन सक्रिय रहँदै आएका राघभले अस्ति र हिजो दुई दिन पत्रकारसँग छलफल गरेका हुन् । नयाँ दिल्लीबाट फर्केलगत्तै अस्ति दिउँसो ग्यालेक्सी टेलिभिजनका दुई जना पत्रकारसँग छलफल गरेका उनले हिजो अर्का पत्रकार ऋषि धमलालाई भेटेको बताइएको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा नियमित आउजाउ गरिरहने पत्रकार धमला र ‘र’ प्रमुख राघभबीच हिजो बिहान ११ बजेदेखि १२ बजेसम्म गोप्य कुराकानी भएको स्रोतले बताएको छ । राघभलाई भेट्न धमला भारतीय दूतावास पुगेका थिए ।

पुस १३ गते बिहान काठमाडौंको पछिल्लो राजनीतिक अवस्थावारे जानकारी गराउन राघभ नयाँ दिल्ली गएका थिए । उनी फर्कने भनिएको मितिभन्दा दुई दिन ढिलो काठमाडौं आएका हुन् ।