काठमाडौं । ७८ लाख रुपैयाँ घुस लेनदेनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई ३ वर्ष ३ महिना कैद र ३९ लाख जरिवाना तथा न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
पाठक सरकारी ओहोदामा रहेर भ्रष्ट्राचार गरेका कारण उनलाई थप ३ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
नेपाल इन्जिनियरिङ कलेजविरुद्ध अख्तियारमा परेको उजुरीमाथि छानबिन रोक्न न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले १२ चैत २०७५ मा पाठक र न्यौपाने दुबै विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो । पाठकले ७८ लाख रुपैयाँ घुस लिएको स्वीकार गरेको भिडियो प्रमाणका रुपमा अख्तियारले पेश गरेको थियो ।









