चितवन । माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था गरिएको हो ।
देवघाटको गलेश्वर आश्रममा पत्रकार सम्मेलन गर्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले तीर्थयात्रीका लागि आवश्यक पर्ने खानेपानी, बिजुली बत्ती, सडक, स्नानघाट, धुनी, सवारीसाधन पार्किङ, शौचालयलगायतका सम्पूर्ण तयारी पूरा भएको बताए ।
देवघाटधामको वेणी सङ्गमस्थलमा पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ हुने अधिकारीले बताए । देवघाट मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग छलफल गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको अधिकारीले बताए ।
माघ स्नानका लागि नवलपुरको गैँडाकोट–३ मा पर्ने हर्दी, केलादी हुँदै पक्की पुलबाट वेणीमा आउन सकिने तथा चितवनको दासढुङ्गाबाट पक्की पुल हुँदै वेणी सङ्गममा आउन सकिने समितिले जनाएको छ । ‘पक्की सडकबाट आउनेहरू सहजरूपमा स्नान गरेर फर्किने व्यस्था गरिएको छ, अधिकारीले भने, ‘सकेसम्म झोलुङ्गे पुलको यात्रा नगर्न भनेका छौँ, यद्यपि तीर्थलको आगमनलाई झोलुङ्गे पुलमा व्यवस्थित बनाउन सोहीअनुसारको व्यवस्था भएको छ ।’









