गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय दिने बताएका छन् । न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने उनको भनाइ छ ।
कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७ दिनदेखि सडक आन्दोलन गरिरहेका महिलाहरूलाई भेटेर गृहमन्त्री लामिछानेले मुद्दाको गहिरो अनुसन्धानका लागि समय दिन आग्रह गरे ।
‘यो टिमले काम गर्छ, यदि यसले काम गर्न सकेन भने अर्को चरणमा जाने कुरा हुन्छ । त्यसपछि न्यायिक आयोग बनाउनुपर्छ कि सार्वजनिकरुपमा अघि बढाउनुपर्छ, या त्योभन्दा अझै माथि जानुपर्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘अझ त्यहाँ मेरो भूमिकामा कुनै कैफियत देखियो भने मैले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ, त्यहाँसम्म पनि जाउँला । तर पहिले एकपटक मलाई राम्रोसँग काम गर्न दिनुहोस् ।’
लामिछानेले कठ्यांग्रिदो चिसोमा सडक संघर्ष नगरी घर फर्किन पनि आग्रह गरे । आफू कुर्मीको मुद्दालाई लिएर दबाबमा रहेको उनको भनाइ थियो । ‘म यसै पनि दबाबमा छु, तपाईंहरू यो चिसोमा कठ्यांग्रिएर नबसिदिनुस् । यो विषय आफैंमा संवेदनशील छ । यसमा तपाईहरू अरु जोडबल चाहिँदैन । म निर्धक्क भएर काम गर्छु,’ उनले भने ।









