काठमाडौंबाट उडेको ७२ जना सवार यति एयरको विमान पोखरामा दुर्घटना

काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । ९ एन–एएनसी कल साइनको जहाँज विहान पोखराको नयाँ र पुरानो विमानस्थल बीचको सेती नदी खोचमा दुर्घटना भएको हो ।

विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । ६८ यात्रुमध्ये ६ शिशु तथा बालबालिका र ६२ वयस्क रहेका थिए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा
डेमो उडान गर्ने विमान हो । प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।