काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।
तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको कास्कीका प्रमुख एसपी अजय केसीले बताए ।
घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए। आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा १५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेकामध्ये पाँच जनाको सनाखत भएको छ। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ।









