नेपालको उड्डयन इतिहास : हालसम्म १ सय ४ वटा दुर्घटना

नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ ।

२०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५०औं दुर्घटना हो ।

नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।

यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४औं हवाई दुर्घटना हो । नेपालका आन्तरिक विमानको दुर्घटनामध्ये पछिल्लो दुर्घटना मानवीय क्षतिका हिसाबले सबैभन्दा ठूलो हो।

आठ महीनाअघि २०७९ जेठ १५ गते पनि जोमसोम, मुस्ताङमा तारा एअरको विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको थियो। त्यसअघि २०७६ वैशाख १ गते समिट एअरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो।

त्यस्तै, २०७४ फागुन २८ गते बाङ्लादेशको ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो। त्यो विमानमा ७१ यात्रु सवार थिए।

२०७० फागुन ४ मा नेपाल एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। २०६९ असोज १२ गते सीता एअरको विमान काठमाडौंमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो।
२०६८ असोज ८ गते बुद्ध एअरको विमान दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।

२०६७ मंसीर २४ गते तारा एअरको विमान दुर्घटनामा २२ जनाको ज्यान गएको थियो। लामिडाँडाबाट काठमाडौंका लागि उडेको यो विमानले उडेको केही बेरमै सम्पर्क गुमाएको थियो।

त्यस्तै, २०६५ असोज २२ गते यती एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गुमेको थियो। काठमाडौंबाट लुक्लाका लागि उडेको यो विमान खराब मौसमका कारण दुर्घटना भएको मानिएको थियो।

सर्वाधिक ठूलो मानव क्षति सन् १९९२ मा पाकिस्तान एअरलाइन्सको विमान दुर्घटनामा भएको थियो। कराँचीबाट काठमाडौं आउँदै गरेको यो विमान काठमाडौं आइपुग्नु अगावै दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो। सोही वर्ष थाई एअरको विमान दुर्घटनामा ९९ जनाको ज्यान गएको थियो।