आज शोक बिदाः अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित

काठमाडौं । कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा आज सोमबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । ठुलो मानवीय क्षति बेहोर्नु परेकाले शोक मनाउन सार्वजनिक बिदा समेत दिने गृह मन्त्रालयले आइतबार नै जानकारी गराएको छ ।

विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आज शोक बिदा दिनुका साथै राष्ट्रिय झन्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच सरकारले बिदा दिने निर्णयको सामाजिक सञ्जालमा भने आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ ।

मन्त्रिपरिषद्ले ‘भावनात्मक’ निर्णय गरेर राज्यलाई भार पर्ने काम गरेको छ । आगामी दिनमा हवाई वा स्थलमार्गमा सवारी दुर्घटना भएमा सार्वजनिक बिदा दिने कि नदिने रु सरकारको निर्णयले कस्तो नजिर बसाउला भन्ने प्रश्न पनि उठेको छ ।