आगामी तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । आगामी तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

अन्य प्रदेशमा पनि वर्षाको सम्भावना छ । आज तराईका केही जिल्लामा पनि पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र तराईमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । दिउँसोको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसमविद् झाले बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रि-मनसुन सक्रिय भएको छ ।

यस्तै, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव समेत रहेको छ । भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् ।