बस्तीलाई विम्व बनाएर लेखिएका धेरै साहित्यिक रचनाको लामो सूची तयार हुने देखिन्छ । मदन पुरस्कार प्राप्त सरुभक्तको पागल बस्ती, सरुबिन्दको विसंगत बस्तीहरु, जर्ज अर्वेलले लेखेका एनिमल फार्मको नेपाली अनुवाद पस्केका विश्वम्भर चञ्चलको पशुहरुको बस्ती अनि डब्बु क्षेत्रीले लेखेको चलचित्र बस्ती । यही बस्तीहरुको लहरमा मुक्तक संग्रहको रुपमा डा ऋषि बस्ताकोटीको भर्खरै प्रकाशित कृति ‘विसंगत बस्ती’ आएको छ ।
कहिले चेपाङहरुको बस्तीमा, कहिले नेपाली गाउँघरको कुना कन्दराको अनकन्टार बस्तीहरुमा चहार्ने वातावरणकर्मी डा बस्ताकोटीका‘विसंगत बस्ती’ ले अझै धेरै बस्तीहरुलाई जोड्ने र उजिल्याउने सपना देख्छ ।
उनको साहित्यिक मन र विकासे वातावरण सँगसंँगै हिँडेर सपाट, सरल, सुसंस्कृत अनि सुरम्य बस्तीको निर्माणमा अघि बढ्ने सपना देख्छ । वातावरणको विश्वव्यापी मान्यता सँगसंँगै त्यसको सुक्ष्मतम इकाई वा भनौं सुक्ष्माती सुक्ष्म चिजहरुमा पनि सुधार र शालीनताको माग गर्दछन् । त्यो भावको प्रकटीकरण आफ्नो भाष्यमा हुन्छ, कल्पनाशिलतामा हुन्छ र त्यसको प्रस्फुटन रचनाहरुमा हुन्छ भन्ने मान्यता राख्दछन् । त्यसैले विरोधभाषमा मुक्तककार बाँचेको समयको खिरिलो अभिव्यक्ति उनको मुक्तकमा भेट्न सकिन्छ ।








