फागुन ११ गते । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको छ। माण्डवी गाउँपालिका-२ रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए।
प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले परियार दम्पतीमाथि घन प्रहार भएको पुष्टि भएको जानकारी दिए। हत्यामा प्रयोग भएको घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद गरिएको डिएसपी बस्यालले जानकारी दिए।
हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् । उनै पंकजले रातापानीकै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले बताए ।
हत्या आरोपमा पक्राउ परेका पंकज मृतक दम्पतीका दाइको छोरा रहेको डीएसपी बस्यालले बताए । अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको देखिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले घरबाट करिब ५० मिटर टाढा रगत लतपतिएको घन समेत फेला पारेको थियो ।
अपरेशन माण्डवी नाम दिएर अनुसन्धान गरेको प्रहरीले अन्तत २४ घण्टा नबित्दै हत्या आरोपमा पंकजलाई पक्राउ गरेको छ । मृतक परियार दम्पतीका चार छोराहरू रहेकोमा सबै जना वैदेशिक रोजगारीमा भारतका रहेका छन् । तीन छोरीहरू पनि विवाह गरेर दाङमा बस्दै आएका छन् । घरमा परियार दम्पतीमात्रै बस्दै आएका थिए ।
विवाह गर्न नसकेको भनेपछि हत्या
प्रहरीका अनुसार पंकजले आफ्नै काकाको हत्या गर्नुमा विवाह सम्बन्धी विषय जोडिएको डीएसपी बस्यालले बताए । पक्राउ प्रतिवादीको भनाई उद्धृत गर्दै डीएसपी बस्यालले भने, ‘करिब एक हप्ता अघि मात्रै पंकजलाई परियार दम्पतीले अहिलेसम्म पनि विवाह गर्न नसकेको ‘थारो’ भनेका रहेछन् । त्यसैको इगोमा हत्या गरेको देखिन्छ ।’
त्यसपछि परियार दम्पती सुत्ने कोठामा गएर ढोकाको छेउमा राखेको घनले दुवै जनाको टाउकामा ३/३ पटक हानेर हत्या गरेको उनले प्रहरी समक्ष बताएका छन् । प्रहरीले पंकजको घरबाट हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा समेत बरामद गरेको छ ।








