नवलपुर, असोज ६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गैँडाकोटबाट कावासोती तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ प ८७८७ नम्बरको मोटरसाइकल र बा.प्र.०६–००५ प ६३१६ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक स्याङजा बार्कोट गाउँपालिका–८ का २४ वर्षीय श्याम बहादुर थापा र मोटरसाइकलको पछाडि सवार सुशिल बम तथा स्कुटर चालक गैँडाकोट नगरपालिका–१० नमुना टोलका ६५ वर्षीय टोयाबहादुर थापा र स्कुटरको पछाडि सवार सोही ठाउँका ५५ वर्षका लक्ष्मण खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिए ।
घाइतेमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते चारै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।









