फोहोर नउठ्दा दुर्गन्धित बन्दै कावासोती

नवलपुर, फागुन १२ गते । नवलपालिकाले झुक्काएको भन्दै नवलपुरको डण्डामा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ ।

नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई वर्गीकरण गरी कुहिनेलाई कम्पोष्ट मल बनाउने, नकुहिनेलाई पुनः प्रयोग गर्ने लगायतका सहमति पालना नगरेको भन्दै वनले फोहोर फाल्न नदिएको हो ।

त्यस्तै पालिकाले बजेट विनियोजन गर्दा अन्य वनलाई जस्तै अंकुरलाई पनि बजेट विनियोजना प्राथमिकता दिनुपर्ने, बिग्रेका मेशिनहरु मर्मत गर्नु पर्ने, फोहोर आजको आजै बर्गिकरण गर्नु पर्ने र बर्गिकरणपछि मात्र फोहोर उठाउने माग राखेको छ । जसका कारण कावासोतीमा १० दिनदेखि देखि फोहोर उठ्न सकेको छैन ।

नगरपालिकाले सहमति विपरित फोहोर उठाएकाले विसर्जन गर्न नदिएको वनका अध्यक्ष लोकबहादुर केसीले बताए । नगरपालिकासँग आइतबार भएको छलफल सहमति नजिक पुगेको भएपनि अहिलेसम्म संकलन भएको फोहोरलाई पहिले बर्गिकरण गरेर मात्र फोहोर उठाएर बिसर्जन गर्न दिने अध्यक्ष केसीले बताए ।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि केही सर्तहरु राखेर नगरपालिकामा पत्र बुझाएको र सोही विषयमा कार्यपालिकामा छलफल गरेर निर्णय गरिने बताए । वनसँग भएको छलफल सहमति नजिक पुगेको भुसालकोे भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अंकुर सामुदायिक वनका पदाधिकारीहरुसँग भएको छलफलमा ११ बुँदे सहमतिको ड्राफ्ट भएको र नगरपालिकाले प्राथमिकताका आधारमा सहमति कार्यान्वयन गर्दै जाने तर फाहोर भने उठाईहाल्नु पर्ने बताए ।

नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै रहेको केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको छ । नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आव्हान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर संकलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।