ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात, बाढी पहिरोबाट क्षति भएका आयोजनाको असरगायतका विषयमा जानकारी लिएका हुन्।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरे।
बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनुपर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी मातहत कार्यालयलाई पनि तयारी अवस्थामा राख्न आग्रह पनि गरे।
उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराए।
कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोहीबमोजिम काम भइरहेको दाबी गरे।