नेपालले आईसीसी टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा ईएपी छनोटमा कुवेतलाई ५८ रनले हराउँदै सुखद् सुरुवात गरेको छ ।
जितका लाग १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे ।
नेपाललाई सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी र रोहित पौडेलले २/२ विकेट लिए । सोमपाल, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले १/१ विकेट लिए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो ।
नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए ।
कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले १-१ विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।