ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर सिक्समा स्थान बनाइसकेका छन् ।
नेपाल र जापानबीचको खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ । यस खेलको विजेता टोलीले सुपर सिक्स चरण सुरु गर्दा २ अंक समेत लिएर जानेछ । सुपर सिक्समा २ अंकबाट सुरु गर्नु निकै महत्वपुर्ण हुन्छ ।
समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन । नेपाल र जापान पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।