विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा आजदेखि सुपर सिक्सका खेल सुरु हुँदैछन् ।

आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग भीड्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा युएईले कतार र मलेसिया तथा नेपालले कुवेत र जापानलाई हराउँदै समान २ अंकसहित सुपर सिक्समा प्रवेश गरेका थिए ।

हेड टु हेड

नेपाल र यूएईबीच टी-२०आईमा हालसम्म १० खेल भएका छन् । दुवै टोलीले ५-५ खेल जितेका छन् । यसबाट पनि दुई टोलीको प्रतिद्वन्द्विता कस्तो छ भनेर थाहा हुन्छ ।

ओमानमा भएका खेलहरूमा भने यूएई हावी बन्दै आएको छ । ओमानमा भएका ३ वटै खेल यूएईले जितेको छ । यसपटक नेपाललाई त्यो नतिजा पनि सुधार्ने अवसर हुनेछ ।

पछिल्लोपटक यी दुई टोली सन् २०२४ को एसीसी प्रिमियर कपमा ओमानमा भेट भएका थिए जहाँ यूएईले नेपाललाई ६ विकेटले हराएको थियो । उक्त खेलमा हार बेहोरेका कारण नेपालको एसिया कपको ढोका बन्द भएको थियो ।

निर्णायक खेलहरूमा पनि एकले अर्कालाई स्तब्ध बनाउँदै आएका छन् । सन् २०२२ को टी-२० विश्वकप छनोटमा नेपाललाई हराएर विश्वकपमा छनोट भएको यूएई सन् २०२३ को विश्वकप छनोटमा भने नेपालसँगै पराजित भएर छनोट हुन सकेन ।

आजको खेलमा नेपालका लागि कुशल भुर्तेल र गुल्शन झाले प्रभाव पार्न सक्छन् । भुर्तेलको ब्याटिङमा पछिल्लो समय राम्रो लय देखिएको छ । यूएईसँगको खेलमा पनि उनको सुरुवाती ब्याटिङ प्रदर्शनमा नेपालको इनिङ निर्भर रहनेछ ।

यस्तै गुल्शन झाले यूएईसँग पहिले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । यस छनोटका सुरुवाती २ खेलमा पनि उनको भूमिका ‘क्रुसियल’ देखिइसकेको छ । उनले पहिलो खेलमा आक्रामक फिनिसिङ गर्दा ६ बलमा २० रन बनाएका थिए ।

टी-२०आई वरियतामा यूएई १६औं स्थानमा छ भने नेपाल १८औं स्थानमा छ ।  त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।