इसरायल र हमासबीच झन्डै २ वर्षदेखि जारी युद्ध अन्त्य, विपिन जोशीको अवस्था भने अझै अज्ञात

इसरायल र हमासबीच युद्धविराम घोषणा भइसकेको छ। इजिप्टमा भएको अप्रत्यक्ष वार्तापछि बिहीबार इसराइल र हमासबीच झन्डै २ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको हो।

युद्धविराम सहमतिसँगै अर्को साताबाट गजामा हमासको कब्जामा रहेका बन्धकहरूलाई छाडिने भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युद्धविराम घोषणापछि बिहीबार इसरायलको राजधानी तेल अविभस्थित होस्टेज स्क्वायरमा बन्धकका परिवार उपस्थित भएर उत्सव मनाएका थिए।

हमासले बन्धकहरू छाड्दा इसराइलले प्यालेस्टिनी केदीहरूलाई जेलमुक्त गर्ने सहमति छ। साथै गाजाबाट इसराइली सेना फिर्ता हुने र त्यहाँ कुनै पनि किसिमको आक्रमण इसरायलले नगर्ने सहमति छ। यो सहमतिपछि बिहीबार गाजामा पनि त्यहाँका जनताहरूले उत्सव मनाएका थिए।

गाजामा ४८ बन्धक हमासको कब्जामा रहेको यकिन भइसकेको छ। तीमध्ये  २० जना जीवित  रहेको भनेर शान्ति वार्ताबारे जानकारी राख्ने एक अधिकारीसँग कुराकानी गरेर अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले पुष्टि गरेको थियो।

ती जीवित रहेको आकलन गरिएको बन्धकहरू को-को हुन् भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले शुक्रबार सूची सार्वजनिक गरेको छ। उनीहरू कुन देशका नागरिक हुन् भन्ने चाहिँ सिएनएनले खुलाएको छैन।

बाँकी रहेका २८ बन्धकमध्ये नेपालका विपिन जोशीको स्थिति अज्ञात रहेको भनेर सिएनएनले लेखेको छ। बुधबार मात्रै दुई वर्ष अगाडि रेकर्ड गरिएको विपिनको भिडिओ सार्वजनिक गरिएको थियो ।

उक्त भिडिओ इसराइलले विपिनका परिवारलाई उपलब्ध गराएको थियो। अक्टोबर ७, २०२३ मा हमासले बन्धक बनाएर गाजा पुर्‍याएपछि नोभेम्बरमा उक्त भिडिओ खिचिएको थियो भनेर इसरायली अनलाइन पत्रिका द जेरूसलेम पोस्टले पुष्टि गरेको थियो।