नवलपुर, असोज २१ गते । नवलपुर सदरमुकाम कावासोती–१ लोकाहा ओरालोमा गुणस्तर मापदण्ड विपरित बनाइएको सठक ठेकेदार कम्पनीले पुनः ढलान गरेको छ ।
गुणस्तर मापदण्ड विपरित ढलान गरेपछि दुई महिनाअघि रकम बुझेर सडक हस्तान्तरण गर्ने बेलामा कम्पनी आफैले ढलान भत्काइएको थियो । भत्काएको दुई महिनापछि कम्पनी आफैले यो सडक पुनः ढनाल गरेको कावासोती नगरपालिका–१ का कार्यवाहक अध्यक्ष ओम थापा मगरले जानकारी दिए ।
एक सय ३५ मिटर सडक ढलान गर्नका लागि काठमाडौंको पपुलर कन्स्ट्रक्सन प्रलिले ५० लाखमा रुपियाँमा ठेक्का लिएको थियो । यो सडक देवचुली र कावासोती नगरपालिका जोड्ने गौरवको आयोजनामा राखिएको चक्रपथ क्षेत्रभित्र पर्छ ।
काम सकेर रकम हस्तान्तरण गर्ने बेलामा प्रयोगशालामा सडकको गुणस्तर परीक्षण गर्दा पूर्णतः असफल भएपछि ढनाल भत्काएर पुनः बनाउनु पर्ने अन्यथा रकम रोक्का गरी कम्पनीलाई कालोसूचिमा राख्न सिफारिस गर्ने चेतावनी दिएपछि कम्पनी फेरी ढलान गर्न सहमत भएको नगरपालिकाको पूर्वाधार विकास शाखाका ईन्जिनियर रञ्जित केसीले जानकारी दिए । उनका अनुसार गिटि, बालुवा र सिमेन्टको मात्रा उचित रुपमा नमिलाई ढलान गरेकाले सडकले गुणस्तर मापदण्ड पुरा गर्न नसकेको हो ।
यो सडक कात्तिकमा सम्झौता भएर चैत मसान्त भित्र सक्नु पर्ने थियो । तर मापदण्ड पुरा गर्न नसकेपछि सोही कम्पनीलाई सोही रकममा असोज मसान्तसम्मको समय सीमा दिएर निर्माण गर्न भनिएको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । उनले ठेकेदार कम्पनीले धरौटी रकम बुझाएको र कुनै पनि पेस्की रकम नबुझेकाले थप निर्धातिर समयमा काम सम्पन्न गरेको बताए ।