लुम्बिनीले जित्यो एनपीएलको उपाधि, फेरि फाईनलमा चुक्यो सुदूरपश्चिम

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

पहिलो संस्करणमा पुछारमा रहँदै लिग चरणबाटै बाहिरिएको लुम्बिनी पहिलो पटक उपाधि जित्न सफल भयो । उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पाउनेछ ।

पोहोर साल जस्तै यो पटक पनि उपविजेतामा सीमित भएको सुदूरपश्चिमले ५१ लाख पाउनेछ । कीर्तिपुरमा ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा  ४ विकेट गुमाउँदै पुरा गर्यो । झिनो लक्ष्य पछ्याएको लुम्बिनीले शुरुदेखिनै आक्रामक खेल्यो ।

दिनेश अधिकारीले पहिलो ओभरमानै २७ रन हाने । उनले दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का हाने ।  उनी १३ बलमा ४२ रन हाने । उनले ५ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले १६ र डार्सी शर्टले १३ रन बनाए । निरोशन डिकबेलालले नटआउट ११ रन बनाए ।

यसअघि कीर्तिपुरमा टस जितेर ब्याटि गरेको सुदूरपश्चिम १९ ओभर १ बल खेल्दै ८५ रनमा अलआउट भएको थियो । लुम्बिनीको  धारिलो बलिङ  सामू शुरुदेखिनै विकेट गुमाउँदै दबाबमा गरेको सुदूरपश्चिम खेलमा फर्कन सकेन र ८५ रनमा धराशायी भयो । लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक गरे ।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलको सामना गर्दै एक चौका हाने । उनी १७ औं ओभरमा आउट भए । दीपेन्द्रसिंह ऐरीले १३ तथा हरमित सिंह र स्कट कुग्गेलेनले १० रन जोडे ।

तीन जनाले खाता खोल्न सकेनन भने अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि कप्तान रोहित पौडेल, रुबेल  ट्रम्पलमेन र शेर मल्लले समान तीन विकेट लिए । एक विकेट तिलक भण्डारीको नाममा रह्यो ।