नवलपुर, साउन ५ गते । नवलपुरको देवचुलीकी ११ वर्षीया भेट्रान फुटबलर सजनी तामाङलाई शसस्त्र प्रहरीको एपीएफ क्लवले अनुबन्ध गर्न चासो दिएको छ । त्यसका लागि सजनीले काठमाडौं गएर ट्रायर समेत दिइसकेको एन्फा रेफ्री जित बहादुर तामाङले जानकारी दिए ।
ट्रयल हेरिसकेपछि एपीएफ क्लबले पछि जानकारी गराउने बताएको उनको भनाइ छ । काठमाडौंका अरु थुप्रै क्लवले पनि सजनीको खेलप्रति चासो देखाउँदै क्लवमा आवद्ध गराउन चासो दिएका छन् । तर सजनीको परिवारले भने एपीएफमा भए राम्रो हुने बताएको छ । ‘धेरैतिरबाट प्रस्तावहरु आइरहेका छन्, रेफ्री तामाङले भने, ‘तर पढाई र जीवनको सुरक्षा राम्रो हुने भएकाले एपीएफ परिवारको पहिलो रोजाईमा छ ।
बरचुली मावि कक्षा ६ मा अध्ययनरत देवचुली–१७ बरटाँडीकी सजनीले सानै उमेरमा उत्कृष्ट फुटबल खेल्न थालेपछि अहिले उनी सर्वत्र चर्चाको पात्र बनेकी छिन् । सजनीकै चमत्कारिक प्रदर्शन र गोल मद्दतमा १६ वर्ष मुनिको जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगितामा उनको टिम देवचुली नगरपालिका प्रथम भएको थियो ।
सजनीको खेलप्रति उनका प्रशिक्षक विमल क्षेत्रीले पनि निक्कै प्रभावित भएको भन्दै उनी एक असर र प्रतिभावान खेलाडी भएको चित्रण गरेका छन् । अरु खेलाडीलाई धेरै सिकाउन परे पनि सजनीलाई थोरै तरिका मात्र सिकाए धेरै सिक्ने क्षेत्रीको भनाइ छ ।
उनको फुटवर्क, स्किल र स्टामिना सबैभन्दा राम्रो पक्ष भएको र प्राक्टिसमा कहिल्यै थाकेको महसुस नहुने र ९० मिनेको खेलमा उनी पुरै समय मैदानमा बिताउने गरेको प्रशिक्षक क्षेत्रीको भनाइ छ । उनको क्षमतालाई क्षेत्रील ‘गड गिफ्ट’ भनेका छन् ।
सर्वत्र चर्चामा रहेकी उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले घरमै पुगेर भेटी थप हौसला दिँदै जुत्ता, मोजा, जर्सी लगायत भौतिक सहयोग पनि गरेका थिए । उनको खेल देखेर आफु अत्यन्त प्रभावित भएको र स्कुल, जिल्लाको नाम राख्दै देशको लागि खेल्न उनले प्रोत्साहन गरेका छन् । थापाले थप प्रशिक्षणका लागि काठमाडौं गएमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको सजनीले सुनाइन् ।









