प्रथम कावासोती गोल्डकपको उपाधि गण्डकी पुलिसलाई

नवलपुर, पुष १६ गते । कावासोती नगरपालिका–१६ डण्डामा सम्पन्न प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि गण्डकी पुलिस क्लबले जितेको छ।

बुधबार भएको फाइनल खेलमा निर्धारित समय २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गण्डकी पुलिसले हनामी भरतपुर फुटबल क्लब, चितवनलाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो।

निर्धारित समयमा गण्डकी पुलिसका लागि दिपक गुरुङ र विवेक गुरुङले एक–एक गोल गरे भने हनामी भरतपुरका तर्फबाट सुलभ मास्के र सृजन क्षेत्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। पेनाल्टी सुटआउटमा गण्डकी पुलिसका रणदीप पौडेल, सुशील लामा, विपुल गौतम, दिपक गुरुङ र सौरभ सन्त्यालले सफल प्रहार गरे।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका हनामी भरतपुर फुटबल क्लबका जर्सी नम्बर ६ का सुलभ मास्केलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न व्यक्तिगत विधातर्फ गण्डकी पुलिस क्लबको उल्लेखनीय दबदबा देखियो। उत्कृष्ट गोलरक्षक गण्डकी पुलिसका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर गण्डकी पुलिसका रणदीप पौडेल, उत्कृष्ट मिडफिल्डर हनामी भरतपुर फुटबल क्लबका आकाश थापा,उत्कृष्ट फरवार्ड भरतपुर फुटबल क्लबका गणेश हमाल, सर्वोत्कृष्ट खेलाडी गण्डकी पुलिसका विपुल गौतम घोषित भए।

यस्तै, सर्वाधिक गोलकर्ता अभिषेक चर्च रजहरका यामी बने भने उत्कृष्ट प्रशिक्षक गण्डकी पुलिसका भरत गुरुङ घोषित भएका छन्।

सनलाइट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता गण्डकी पुलिस क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हनामी भरतपुर फुटबल क्लबले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।