दोस्रो अभ्यास खेलमा पनि नेपालको सानदान जित, आसिफको अर्धशतकमा क्यानडा ६ विकेटले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले सफलता हात पारेको छ । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको क्यानडाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १८ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो । नेपाली टोलीको जितमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतकीय योगदान गरे । उनले ५८ रन बनाए ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका आसिफ शेखले केवल २९ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काए । उनी ‘रिटायर्ड आउट’ भएर मैदानबाट बाहिरिए ।

तेस्रो नम्बरमा क्रिजमा आएका सन्दीप जोराले पनि ४४ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३० बलमा एक छक्का र चार चौका हिर्काए ।

ओपनर कुशल भुर्तेल भने ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए । गुलसन झाले टोलीका लागि अविजित ३१ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरी नौ रनमा अविजित रहे । लोकेश बम पाँच रन बनाउँदै आउट भए ।

त्यसअघि, क्यानडाका लागि ओपनर ब्याट्सम्यान नवनित धालिवालले ४१ रनको योगदान गरेका थिए । श्रेयष मोभाले अविजित ३८ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले पनि एक–एक विकेट हात पारे ।

यसअघि, मंगलबार खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटको फराकिलो अन्तरले हराएको थियो ।

विश्वकपअघि नेपालले खेलेको यो अन्तिम अभ्यास खेल हो । टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

आगामी विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।

त्यसमध्ये इङ्ल्यान्ड र वेस्ट इन्डिज टी–२० विश्वकपका पूर्वविजेता हुन् । अन्तिम समयमा बंगलादेशले विश्वकप बहिस्कार गरेपछि स्कटल्यान्डले खेल्ने अवसर पाएको हो ।