कांग्रेस नेता एवं पूर्व जलश्रोत मन्त्री दीपक खड्का पक्राउ

काठमाडौं, चैत १५ गते । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो।

त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो। उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

शनिबार मात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ। उनीहरूलाई चाहिँ गत भदौमा भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।