चितवन : चितवन जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि १८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।
पशु सेवा विभागका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा, चल्ला, अण्डा तथा दानासमेत सुरक्षित रूपमा नष्ट गरिएको हो।
भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक कुखुरा फार्ममा गरिएको परीक्षणका क्रममा बर्ड फ्लु पुष्टि भएपछि तत्कालै नियन्त्रणका उपायहरू अघि बढाइएको जनाइएको छ।
प्राविधिक टोलीले फार्मलाई केन्द्रविन्दु मानेर आसपासका क्षेत्रमा निगरानी बढाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘किलिङ, डिस्पोजल र डिसइन्फेक्सन’ प्रक्रिया अपनाइएको छ।
संक्रमण पुष्टि भएसँगै फार्म वरपरको निश्चित दुरीभित्रका सबै कुखुरा नष्ट गरिएको छ। साथै, प्रभावित क्षेत्रलाई नियन्त्रण क्षेत्रमा राखी कुखुरा तथा कुखुराजन्य उत्पादनको ओसारपसारमा अस्थायी प्रतिबन्ध लगाइएको छ।
पशु सेवा विभागका अधिकारीहरूका अनुसार बर्ड फ्लु अत्यन्तै संक्रामक रोग भएकाले समयमै नियन्त्रणमा नल्याए ठूलो क्षति हुन सक्ने खतरा रहन्छ। त्यसैले तत्काल प्रतिक्रिया स्वरूप उच्च सतर्कता अपनाइएको हो।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले किसान तथा व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुखुरामा असामान्य व्यवहार, अचानक मृत्यु वा अन्य लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।









