हाजिरी जमानीमा रिहा भए ओली र लेखक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा गरेको छ।

आवश्यक परेका बेला हाजिर हुने सर्तमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई परिवारको जिम्मा लगाइएको हो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई श्रीमती राधिका शाक्य र लेखकलाई श्रीमती यशोदा जोशी लेखकको जिम्मामा छाडिएको छ ।

‘अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उहाँहरूलाई जिम्मा जमानीमा रिहा गरियो।’  भट्टराईले भने । सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको थियो । सर्वोचचले अब उप्रान्त म्याद थप नगर्न भनेको थियो । त्यसै अनुसार उनीहरु रिहा भएका हुन्  ।

गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते पक्राउ गरेको थियो।

स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका एमाले अध्यक्ष ओली  बिरामी भएका कारण त्यही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमै राखिएको थियो।

प्रहरी हिरासतबाट मुक्त भए पनि पत्थरीको उपचार जारी रहेकाले पूर्वप्रधानमन्त्री ओली भने सोमबार मात्र शिक्षण अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।