बोमलाल गिरी
नवलपुर, चैत ३० गते । थारु समुदायको चर्चित भोदी खेलालाई राष्ट्रिय खेलको मान्यता दिने बाटो खुलेको छ । नवलपुरमा मात्र सिमित भोदी खेल देशव्यापी बनेसँगै राष्ट्रिय खेलको मान्यता दिनका लागि बाटो खुलेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भएको व्यवस्था अनुसार कुनै पनि खेलले जिल्ला स्तरीय मान्यता पाउनका लागि कम्तिमा तीनवटा पालिका र प्रदेश स्तरीय मान्यता पाउनका लागि कम्तिमा पाँचवटा जिल्लामा दर्ता भएको हुनुपर्छ । त्यस्तै राष्ट्रिय खेलको मान्यता पाउनका लागि कम्तिमा चारवटा प्रदेशमा दर्ता भएको हुनु पर्ने ऐनमा व्यवस्था छ ।
प्रदेश भोदी संघ गण्डकीको आयोजनामा शानिवार र आइतबार नवलपुरको कावासोती–१६ डण्डाको थारु संग्राहलयको मैदानमा प्रदेश स्तरीय भोदी खेल प्रतियोगिता सम्पन्न भएको छ । सातमध्ये पाँच प्रदेको सहभागिता रहेको र सबै प्रदेशमा भोदी खेल दर्ता भएकाले राष्ट्रिय प्रतियोगिताको रुपमा मान्यता दिने बाटो खुलेको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताए ।
‘‘भोदी खेल थारु समुदायको मौलिक र विशेष खेल हो, यसलाई ऐनले पनि विशेष महत्व दिएको छ,’’ शर्माले भने, ‘‘विशेष खेललाई राष्ट्रिय खेलकुद परिषद्ले सिधै राष्ट्रिय खेलको रुपमा दर्ता गर्नु पर्ने थियो, तर नगरेका कारण अव प्रदेश खेलकुद परिषले त्यसका लागि पहल गर्छ ।’’
उनले यसको महत्व बुझाउँदै सातै प्रदेशमा दर्ता गरेको र पहिलो पटक सबै प्रदेशको सहभागितामा प्रतियोगिता पनि भइसकेकाले राष्ट्रिय खेलको मान्यता पाउने बाटो खुलेको बताए । प्रतियोगिता आयोजनाका हिसावले, मौलिक र ऐतिहासिक महत्वका हिसावले र विशेष खेलका हिसावले पनि मान्यता दिन कुनै कानुनी अवरोध नभएको शर्माको भनाइ छ । राष्ट्रिय खेलको मान्यता पाएपछि अव यो खेल थारु समुदायमा मात्र सिमित नरहने उनले बताउ ।
भोदी खेल संघ गण्डकीका अध्यक्ष रामप्रसाद महतोले यो खेलले सबै कानुनी आधार पुरा गरिसकेकाले अव राष्ट्रिय खेलको मान्यता प्राप्त गर्नका लागि पहल गर्ने बताए । त्यसका लागि सहयोग गर्न पनि उनले सबैसित आग्रह गरेका छन् ।
लोप हुने अवसथामा पुगेको यो खेलले राष्ट्रिय खेलको मान्यता पाउने अवसथामा पुगेको भन्दै थारु समुदायका अगुवाहरु हषित भएका छन् । पहिले थारुहरुले मात्र खेल्ने यो खेल अहिले अन्य समुदायले पनि खेल्न थालेका छन् । प्रतियोगितामा मगर र क्षेत्री समुदायका युवाहरुले पनि भाग लिएका थिए ।
के हो भोदी खेल ?
भोदी खेल संघ गण्डकीका अध्यक्ष महतोका अनुसार यो खेल कौरव र पाण्डवको युद्धकालिन महत्वसँग जोडिएको छ । अनन्त चर्तुदशीको भोली पल्ट आफ्नो गाउँ टोलका युवाहरुको समूह काठको लठ्ठी बनाइ सो लठ्ठीलाई जमिनमा एक हात जतिको खाल्डो खनी त्यही खाल्डोमा १० थान लठ्ठी राखी बाँकी माथि देखिएको लठ्ठीहरुलाई खाल्डोबाट अर्को लठ्ठीले हानेर निकाल्ने खेललाई भोदी खेल भनिन्छ ।
यसो गर्दा भगवान इन्द्र अति प्रशन्न भइ बरदान दिनुहुनेछ, कौरवसँगको लडाईंमा पाण्डवहरुको विजय हुनेछ र मनुष्य जातिको इच्चा आकांक्षा पुरा हुनेछ भनि श्रीकृष्णले पाण्डवहरुलाई सम्झाई बुझाइ गरेको किम्वदन्ती रहेको महतोले बताए । सोही दिनदेखि थारु समुदायले यो खेल खेल्ने गरेको इतिहास रहेको उनको भनाइ छ ।
कसरी खेलिन्छ ?
यो महिला र पुरुष दुबैले खेल्छन् । एक समूहमा १० खेलाडी खेल्छन् भने दुई जना अतिरिक्त खेलाडी, एक जना टीम व्यवस्थापक र एक जना प्रशिक्षक गरी १४ जना रहन्छन् । एउटा खेल १० मिनेटको हुन्छ । जमिनमा खनिएको १२ इन्चको खाल्डो (थारु भाषामा डाङ) मा १० वटा लठ्ठी (थारु भाषमा टाँचा) ठाडो पारेर राखिएको हुन्छ ।
१० मिटर टाढाबाट पालैपालो अर्को लठ्ठीले झटारो हानेर खाल्डोमा राखिएका लठ्ठी निकाल्नु पर्ने हुन्छ । जति छोटो समयमा जति धेरै लठ्ठी निकाल्न सक्यो उसैैलाई विजेता घोषणा गर्ने नियम रहेको खेल व्यवसथापन समितिका संयोजक रिम बहादुर महतोले जानकारी दिए ।









