अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।
मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ ।
तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइनसकेको इरानको भनाइ छ ।
ट्रम्पले सम्झौतापछि इरानको उच्च संवर्द्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्ततः नष्ट गरिने पनि बताएका छन् । उनले वार्ता सफल नभए अमेरिकासँग “अन्तिम विकल्प” समेत रहेको चेतावनी समेत दिएका छन् ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरु भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको थियो । यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।









