अमेरिकाद्वारा इरानमा फेरि हवाई हमला, मुख्य सहर निशानामा

सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई ‘भारी मूल्य चुकाउन’ कारबाही गरिएको घोषणा गरेको हो।

अमेरिकी हमलाबाट इरानको क्युशम टापु, बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् र छर्रा लागेर केही मानिसहरू घाइते भएका छन्, यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन।

इरानका उप–परराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लङ्घन भएको बताउँदै तेहरानले यसको ‘निर्णायक जवाफ’ दिने चेतावनी दिएका छन्। अर्कातर्फ, अमेरिकी सेन्ट्रल कमान्डले इरानको यो आक्रामक व्यवहार बिनाकारण भएको र यसले स्पष्ट रूपमा युद्धविरामको उल्लङ्घन गरेको दाबी गरेको छ।

सैन्य हमला गर्नुअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथि अस्थायी रूपमा फुकुवा गरिएको तेल प्रतिबन्धको छुटलाई खारेज गरिदिएको थियो। जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको १४ बुँदे समझदारीको हिस्सा स्वरूप इरानलाई तेल र पेट्रोल उत्पादनहरू बिक्री गर्न अनुमति दिने लाइसेन्स दिइएको थियो।

अमेरिकाको कदमलाई इरानको परराष्ट्र मन्त्रालयले सम्झौताको उल्लङ्घन भन्दै यसले अमेरिकी सरकारको खराब नियत, अस्थिरता र अविश्वसनीयता पुष्टि गरेको आरोप लगाएको छ।

खाडी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुज्रिरहेका तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै इरानको कडा निन्दा गरेका छन्। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले हर्मुजनजिकै कतारी जहाज ‘अल–रेकाय्याट’माथि लक्षित आक्रमण भएको भन्दै यसको पूर्ण जिम्मेवारी इरानले लिनुपर्ने बताए।

त्यस्तै, साउदी अरेबियाको परराष्ट्र मन्त्रालयले पनि आफ्नो ट्याङ्कर ‘वाड्यान’लाई इरानले निशाना बनाएको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय जलयात्रा र विश्वव्यापी ऊर्जा आपूर्तिको सुरक्षामाथिको हमला भनेको छ।