अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा ठूलो धक्का लागेको छ । नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन, प्रतिनिधिसभा र सिनेटमा बहुमत हासिल गरेको छ ।
मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सिनेटको बहुमत फर्काएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ।
प्रतिनिधिसभामा पनि डेमोक्र्याटले बहुमत ल्याउने अमेरिकी सञ्चारमाध्यमको प्रक्षेपणलाई रोयटर्सले उद्धृत गरेको छ। सबै निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन बाँकी रहे पनि यी प्रक्षेपणअनुसार संसद्का दुवै सदनको नियन्त्रण रिपब्लिकनबाट डेमोक्र्याटको हातमा जाने भएको छ।
ट्रम्पको दोस्रो कार्यकालको मध्यबिन्दुमा भएको यो निर्वाचनलाई उनको नेतृत्व, आर्थिक नीति र सरकारको कार्यसम्पादनप्रतिको जनमतका रूपमा हेरिएको थियो । निर्वाचनको परिणामले अब ट्रम्पलाई आफ्नो बाँकी कार्यकालमा संसद्बाट नीति तथा कार्यक्रम अघि बढाउन कठिन हुने देखिएको छ
रोयटर्सका अनुसार डेमोक्र्याटहरूले सिनेटमा रिपब्लिकनका कम्तीमा ६ सिट खोस्दै बहुमततर्फ निर्णायक सफलता हासिल गरेका छन् । प्रतिनिधिसभामा पनि रिपब्लिकनका सिट गुमेका छन् । टेक्सास, साउथ क्यारोलाइना, आयोवा र ओहायोजस्ता परम्परागत रूपमा रिपब्लिकनको प्रभाव रहेका राज्यमा समेत डेमोक्र्याटहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् ।
निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्नुमा महँगी, इन्धनको बढ्दो मूल्य र इरानसँगको युद्धप्रति जनताको असन्तुष्टि प्रमुख कारणका रूपमा देखिएका छन् । रोयटर्सका अनुसार निर्वाचनमा सहभागी मतदातामध्ये ठूलो हिस्साले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । मतदाताको असन्तुष्टि ट्रम्प प्रशासनको आर्थिक व्यवस्थापन र विदेश नीतिसँग पनि जोडिएको थियो ।









