स्ट्रेट अफ होर्मुज ‘अमेरिकाको नयाँ भूभाग’ भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य)को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् ट्रम्पले उक्त दाबी गरेका हुन्।

पोस्ट गरिएको ग्राफिक्समा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ।

यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए। इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता नगरेसम्म तथा लेबनान र गाजासहित क्षेत्रमा युद्धविरामका लागि सहमत नभएसम्म होर्मुज बन्द रहने बताएका छन्।

स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रणका लागि जारी संघर्ष इरान युद्धको प्रमुख केन्द्र बनिरहेको समयमा इरानले होर्मुजको ठूलो हिस्सामा नियन्त्रण गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले दाबी गरेको छ। पछिल्ला केही महिनायता इरान र अमेरिका दुवै देशले स्ट्रेट अफ होर्मुजमाथि आफूहरूको पकड बलियो रहेको दाबी गर्दै आएका छन्। तर पछिल्लो तथ्यांकले भने अमेरिकी नौसेनाको सक्रिय उपस्थितिबीच इरानले महत्त्वपूर्ण जलमार्गमाथिको आफ्नो नियन्त्रणको ठूलो हिस्सा गुमाउँदै गएको देखाएको सीएनएनले लेखेको छ।

जहाजको ट्रान्सपोन्डर र स्याटेलाइट डेटामार्फत निगरानी गर्ने कम्पनी केप्लरका अनुसार, पछिल्ला दुई सातामा होर्मुज जलडमरूमध्यबाट भएका जहाज आवागमनमध्ये ८० प्रतिशतभन्दा बढी ओमानतर्फको मार्गबाट भएका छन्। यो संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सामुद्रिक मार्ग हो, जसको इरानले लामो समयदेखि कडा विरोध गर्दै आएको छ।

इरानले होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्दै ओमानको उत्तरी तट हुँदै जलमार्ग पार गर्न खोज्ने दर्जनौँ जहाजमाथि आक्रमण गरेको छ। तर आक्रमणको जोखिमका बाबजुद पछिल्लो समय अधिकांश जहाजले इरानको चेतावनी बेवास्ता गर्दै अमेरिकी नौसेनाको सुरक्षाको आश्वासनसहित उक्त मार्ग प्रयोग गर्न थालेका छन्।