दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ। हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन्। घर गुमाएका परिवारहरू भित्री भूभागमा पुनर्निर्माण गरेर बस्न थाले पनि केही समयमै समुद्रले फेरि उनीहरूको बस्तीलाई चपेटामा पार्ने गरेको छ।
डुंगाबाट मात्र पुग्न सकिने बालुवाको साँघुरो भूभागमा हिँड्दै ३५ वर्षीय थोम्पसन अकिङबोयले भने, ‘हामी मानिसहरूका घरमाथि हिँडिरहेका छौँ।’ करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो।
तर सन् २००० को दशकदेखि बस्तीमा तटीय क्षरण तीव्र हुँदै गएको छ। इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसबाट प्रभावित छन्। नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तटरेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ।
सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह हरेक वर्ष करिब ३.९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसतभन्दा १०.५ प्रतिशत बढी रहेको जनाएको थियो।
आयटोरोका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीले १४ वर्षअघि खिचिएको तस्वीर देखाउँदै भने, ‘त्यतिबेला यहाँ भवनहरू थिए। अहिले तीमध्ये कुनै पनि बाँकी छैनन्।’ उनका अनुसार दरबारमा पहिले करिब १०० कोठा थिए, अहिले करिब एक दर्जन मात्र बाँकी छन्। समुद्र नजिकिएको उनको शयनकक्षमा राति छाल पर्खालमा ठोक्किएको आवाज सुनिन्छ।
‘यो हाम्रो भूमि हो। हामी कहाँ जाने? यो निकै जटिल अवस्था हो,’ उनले भने।
अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढ्दा दरबारका बासिन्दा एक सातासम्म घरभित्रै थुनिएका थिए। राजाका व्यक्तिगत सहायक तथा माछा मार्ने अकिङबोयका अनुसार सन् २०१९ मा समुद्रले उनका बुबाको घर बगाएपछि आफूले जोगाउन सकेको एउटै वस्तु विश्वविद्यालयको प्रमाणपत्र थियो। केही परिवार तीन पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन्।









