ट्रम्पको नयाँ नियम : अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकता सीमित गर्न दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन् ।
नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वत: अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ । दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसको ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले भने, ‘यो काम धेरै वर्षअघि नै हुनुपर्थ्यो, अहिले हामी त्यसलाई कार्यान्वयन गर्दैछौं ।’ उनले जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो अघिल्लो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाए ।

पहिलो कार्यकारी आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि तीमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन प्रयास गरेका व्यक्ति वा संघीय कानुनअनुसार स्वत: नागरिकता नदिइने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भएमा त्यस्ता शिशुले स्वत: अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् ।

दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको अघिल्लो प्रयास अस्वीकार गरेको थियो ।

 त्यसकाे विराेध गर्दै ट्रम्पले भने, “मलाई लागेको थियो हामी सर्वोच्च अदालतमा जित्नेछौँ । तर, हामीले अन्यायपूर्ण निर्णय पायौँ । त्यसैले अहिले हामी यो समस्याको समाधान अर्को तरिकाबाट गर्दैछौँ ।”