
नारायणीधाम गङ्गेश्वर महादेव मन्दिर, नवलपरासी (पूर्व) कावासोती–१७, अमलटारी भन्ने स्थानमा पर्दछ जुन नारायणी नदीको लगभग किनारमा अवस्थित अति सुन्दर र मनोरम वातावरणका बिच रहेको छ । यो मन्दिर पहिला पहिला खास चर्चामा पनि थिएन र एउटा साँघुरो क्षेत्रमा जीर्ण सानो मन्दिरका रुपमा मात्र थियो । कालान्तरमा हालको मन्दिर व्यवस्थापन समितिको सक्रियतामा मन्दिरमा यति धेरै परिवर्तन भयो कि जुनकुरा त्यहाँ गएर प्रत्यक्ष अवलोकन गरेपछि मात्र थाहा पाइन्छ ।
अहिले आएर अमलटारी मन्दिर जिल्लाकै उत्कृष्ट स्थल बनेको छ । आफूले गरेको काममा सफलता हात लाग्दै गएपछि मन्दिर व्यवस्थापन समिति समेत हौसिएको छ र थप व्यवस्थित बनाउन र देशकै नमुना धार्मिक पर्यटकीय स्थल बनाउन निरन्तर लागिरहेको छ । दान दातव्यबाट मात्र चलेको, कुनै गुठी वा विशेष कोष नभएको अवस्थामा समेत मन्दिरले यति धेरै प्रगति गर्न सकेकोमा स्थानीयबासी दङ्ग छन् । यस आलेखमा मन्दिरका मुख्य विशेषता, इतिहास, वर्तमान अवस्था र भावी योजना समेत बुझ्ने प्रयास गर्नेछौं ।
मन्दिरको इतिहास र वर्तमान
पवित्र नारायणी नदीको समिपमा रहेको गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय र धार्मिक गन्तव्य स्थल नवलपुर जिल्लाको कावासोती–१६ डण्डाबाट दक्षिणतर्फ करिब ९ कि.मी.को दूरीमा कावासोती–१७ अमलटारीमा यो मन्दिर अवस्थित छ । यस मन्दिरको स्थापना वि.सं. २०५१ साल फागुन १५ गते महाशिवरात्री पर्वको अवसरमा भएको थियो ।
उक्त दिन यस क्षेत्रका केही धार्मिक व्यक्तित्वहरू नारायणी नदीमा गई डुबुल्की मारेर जलभित्र खोज्दा हातमा परेको पहिलो शिलालाई नै शिवजी मानी विशेष पूजाआजा सहित स्थापना गरिएपछि विधिवत् रुपमा मन्दिरको स्थापना भएको र सोही दिनदेखि प्रत्येक सोमबार मन्दिर स्थापना गर्ने परिकल्पना गरिएको स्थानमा गई पूजा गर्न थालिएको इतिहास उक्त मन्दिर व्यवस्थापन समितिका वर्तमान अध्यक्ष युक्तप्रसाद गौंडेल बताउँछन् ।
मन्दिर निर्माणको क्रममा सुरुमा खर खडाईबाट कच्ची मन्दिर बनाइएको थियो भने पछि विभिन्न महिला समूह, स्थानीय युवा क्लब, तत्कालिन जि.वि.स. सदस्य दुर्गादत्त भण्डारी र आम जनसमुदायको संयुक्त प्रयासमा पक्की मन्दिरको स्थापना भएको रहेछ । विभिन्न सहयोगदाताहरुको पहलमा मन्दिरमा पुजारी बस्ने घर, चापाकल धारो, गेट, गाइगोठ, भजन कृतन मण्डप, जेष्ठ नागरिक आश्रम र मूर्तिहरु बनेका छन् र मन्दिरमा दैनिक तथा विशेष पर्वहरूमा विशेष वार्षिक पूजा गर्ने र मन्दिर परिसरभित्र ज्येष्ठ तथा असहाय व्यक्तिका लागि समेत आश्रमको व्यवस्था गरिएको छ ।
यसैगरी किरियापुत्रीका लागि समेत भवन बनाउने कार्यलाई अघि बढाइएको छ । आन्तरिक व्यवस्थापन अन्तर्गत वर्तमान व्यवस्थापन समितिले मन्दिर दर्ता कायम गर्ने, डेढ बिगाहा जग्गा जिल्ला प्रशासन कार्यालयबाट छुट्याउने, मन्दिरको बिधान बनाउने, मन्दिर परिसरमा काँढे तार लगाउने, पिकनिक पार्कको स्थापना गर्ने, मन्दिरको सुधार, जिर्णोद्वार र विकासका कार्यलाई सक्रियताका साथ अघि बढाउनुका साथै दैनिक तथा वार्षिक पूजापाठको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिने कार्यहरू गरेको छ ।
निकै व्यवस्थित तरिकाले सञ्चालन भएको उक्त मन्दिरमा हालसम्म करिब ५५० जना आजीवन सदस्य, १०८ शिवलिङ्ग स्थापनाका लागि सहयोगदाता १६२ जना, श्रेयस्कर सदस्य दुई जना र एक जना प्रमुख संरक्षक रहेका छन् भने अन्य सहयोगदाताहरुको नाम सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष गौंडेल बताउँछन् ।
प्रमुख आकर्षण
यस मन्दिरको चारैतर्फ हरियाली वातावरण, चराचुरुङ्गी, विभिन्न जङ्गली जनावरहरू एकसिंगे गैंडा, मृग, बाघ, भालु, मयुर जस्ता जनावरको कहिलेकाहीँ सजिलै प्रत्यक्ष अवलोकन समेत गर्न सकिने भएकोले पर्यटन प्रवर्धनका लागि यस क्षेत्रको भविष्य निकै राम्रो देखिन्छ । नदी किनारमा रहेका विभिन्न होटलहरू, होम स्टे, पिकनिक स्पट, नौका बिहार, जङ्गल सफारी र होमस्टे लगायतका सुविधाहरू समेत मन्दिर रहेको क्षेत्रमा पाइने भएका कारण यो स्थल स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेको छ र सम्भावना अझै बलियो छ ।
यसका साथै यस क्षेत्रमा बसोबास गर्ने थारु, कुमाल, बोटे, मुसहर जस्ता जातजातिका आफ्नै रितिरिवाज, भेषभूषा र संस्कृति रहेको हुनाले विभिन्न खोज, अनुसन्धान र मनोरञ्जनका लागि समेत सम्भावना रहेको छ ।
यतिमात्र होइनकि विभिन्न सहयोगदाताहरुको सहयोगमा यस मन्दिरको सम्मुखमै नारायणी नदीको पानीले स्नान गर्न मिल्ने गरी बोरिंग जडान गरेर शुद्ध पानीको व्यवस्था मिलाइ ९ वटा गौमुखे धाराहरु आकर्षक तरिकाले जडान गरिएको छ । यो दृश्य हेर्दा मुक्तिनाथ मन्दिर परिसरको गौमुखे धाराको झझल्को आउने गर्छ । नारायणी नदीको शुद्ध पानी धारामै आउने भएपछि गंगास्नान गर्न समेत जानुनपर्ने र त्यहीँबाटै नारायणी नदीको जलले स्नान गर्न पाइने सुविधा कम आकर्षक छैन ।
स्नान गर्न आउनेहरुलाई महिला पुरुष दुवैका लागि अलग अलग कपडा फेर्ने सुविधा सम्पन्न कोठाको व्यवस्था र शौचालयको समेत व्यवस्था गरिएको छ । धाराबाट खसेको पानीलाई व्यवस्थित तरिकाले विसर्जन गर्ने व्यवस्था मिलाइएको छ जसले गर्दा उक्त क्षेत्र सफा देखिन्छ । धाराकै ठीक अगाडि राम्रो फुलबारीको व्यवस्था गरिएको छ र नेपालको नक्सा टाँस गरी मुख्य सूचनाहरु समेत राखिएको छ । यसले त्यहाँ आउने पर्यटकको ध्यान खिचिरहेको र सेल्फी जोनको रुपमा विकसित भएको पाइन्छ । अब यसै स्थलमा स्वीमिंग पुलको समेत व्यवस्था गरिने र त्यसका लागि सहयोगदाताको खोजी भइरहेको अध्यक्ष गौंडेल बताउँछन् ।
आगामी कार्यक्रम
आध्यात्मिक भनाइमा सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गर्ने र सूर्य दक्षिणायन भएपछि विशेष चाडपर्वको सुरुवात हुने पहिलो चाडका रुपमा नेपाली समाजमा आउने साउन महिना साउने सङ्क्रान्तिबाट सुरु हुन्छ । साउन महिनालाई नेपाली समाजमा निकै पवित्र महिना मानिन्छ र त्यसमाथि पनि साउनको सोमबार विशेष पवित्र दिनका रुपमा मनाइन्छ । साउन महिनाको सोमबार शिव भगवानको निकै प्यारो दिनका रुपमा मानिने हुँदा साउन महिनाभरका प्रत्येक सोमबार शिवजीको विशेष पूजाआजा गरी मनाउने चलन छ ।
महिलाहरुले हरियो चुरा, वस्त्र र मेहन्दी लगाएर शिवको उपासना पनि गर्ने गर्छन् । यसो गर्दा मनोकाङ्क्षा पनि पूरा हुने र शरीरमा ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । यसैगरी संस्कृतिविद्हरु पनि यो महिनालाई धर्मकर्मको महिना भन्न रुचाउँछन् । यो महिनामा तीर्थ व्रत, दान धर्म, पूजापाठ गर्दा र सात्विक भोजन गर्दा निकै बढी फल प्राप्त हुनेकुरा बताउँछन् । यसका साथै साउन महिना निकै पानी पर्ने महिना पनि हो र शिव भगवानलाई पानी तथा जलधारा अति मनपर्ने विषय भएकाले शिव मन्दिरहरुमा जल चढाउने प्रचलन पनि छ । त्यस्तै साउन महिनामा पानी पर्ने, हरियाली हुने र स्वच्छ हावा बहने हुँदा यस महिनालाई वातावरणीय स्वच्छताका लागि पनि निकै उत्तम महिना मानिन्छ ।
साउन महिनामा सांस्कृतिक पर्व बोलबम पनि पर्दछ । पछिल्लो समयमा मनाउन थालिएको बोलबम विशेष गरी तराइका जिल्लाहरुमा बढी प्रचलित छ र यो साउने सोमबार भव्यतापूर्वक मनाउने गरिन्छ । बोलबम यात्रामा हिँड्दा पवित्र तीर्थस्थलको नदीमा स्नान गरी, उपवास गरेर, पहेँलो वस्त्र लगाएर, खाली खुट्टा हिँडेर बोलबम भन्दै पवित्र नदीबाट लिएको जलले शिव मन्दिरमा गई शिवका मूर्ति तथा शिवलिङ्गमा चढाउने गरिन्छ ।
यसरी शिवालयमा जल अर्पण गर्ने विधिवत् प्रक्रिया नै बोलबम हो भनेर भनिन्छ । शिवको पूजा गर्ने शिलशिलामा रुद्री वा रुद्राभिषेक गर्ने उपयुक्त महिना पनि साउन महिनालाई मानिन्छ । यसो गर्नाले शिव प्रसन्न हुने र चाहेको फल प्राप्त हुने विश्वास गरिन्छ । यो महिनामा देशभरका शिवालय, पशुपतिनाथ, बराहक्षेत्र लगायतका महादेवका मन्दिरहरुमा विशेष भीडभाड र पूजाआजा हुने गर्छ ।
यसै शिलशिलामा सदा झैं यसवर्षको साउन महिनाभर अमलटारीको महादेव मन्दिरमा पनि शिवलिङ्गमा जल चढाउने र अखण्ड अग्नि प्रज्वलन हुने, चरुद्धारा दैनिक होमन गरिने, जोसुकै भक्तजनले होमन गर्न सक्ने र कर्ता बस्न सक्ने, दैनिक रुद्री पाठ गरिने, ग्रहदशााको लागि सङ्कल्प हुने, दैनिक भजन किर्तन हुने र विधिवत् बोलबम समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष गौंडेल बताउँछन् ।
चुनौती र भावी योजना
बाहिरबाट हेर्दा मन्दिरले जति प्रगति गरिरहेको देखिन्छ त्यो सानो मेहनत र तपस्याले भएको छैन भनी दुःख पोख्दै अध्यक्ष गौंडेल भन्छन्, मन्दिर सञ्चालन, व्यवस्थापन गर्न र यसलाई नेपालकै नमुना धार्मिक पर्यटकीय स्थल बनाउने सपना हालको मन्दिर व्यवस्थापन समितिले देखेको छ र त्यही कार्ययोजना अनुसार अघि बढिरहेको छ । मन्दिरलाई आवश्यक सहयोग गर्ने सरकारी निकायहरु स्थानीय नगरपालिका, सांसदहरू र गण्डकी प्रदेश सरकार मात्र थोरै मात्र सहयोगदाताका रुपमा देखा परेका छन् ।
संघीय सरकारबाट हालसम्म कुनै सहयोग पाइएको छैन भने स्थानीय सहयोगदाताबाटै मन्दिर सञ्चालन भइरहेको र विकासको गतिमा अघि बढिरहेको छ । तर यतिले मात्र हामीले सोंचेको योजना अनुरुप बृहत्तर विकास अघि बढ्न नसकेको परिप्रेच्छमा सबैको साथ र सहयोग अपरिहार्य रहेको छ । सबैको परिश्रम र सहयोगबिना यस क्षेत्रको विकासको कल्पना समेत गर्न सकिंदैन । त्यसकारण यस क्षेत्रको वृहत्तर विकास निर्माणका लागि स्थानीय व्यक्ति, परिवार, समुदाय र विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाको थप सहयोगको अपेक्षा गरिएको गौंडेल बताउँछन् ।
मन्दिरलाई यो अवस्थासम्म ल्याइ पुर्याउन विशेषरुपमा योगदान दिने तत्कालिन जि.वि.स. सदस्य तथा संरक्षक दुर्गादत्त भण्डारी, मन्दिरलाई ५ कट्ठा जग्गा दान दिएर पनि मन्दिरको फेरोमा १०८ दीप तथा बुढानिलकण्ठको मूर्ति समेत स्थापना गर्नुहुने स्व.श्री गङ्गाराम डङ्गोल तथा उहाँकि धर्मपत्नी कालिमाया डङ्गोल, भुपति भट्टराई लगायत सबै सहयोगदातालाई सम्झन चाहन्छन् अध्यक्ष युक्तप्रसाद गौंडेल ।
मन्दिरमा स्रोत साधनको अभावमा भावी योजनामा रहेको वृद्धाश्रमको व्यवस्थापन गर्न कठिन रहेको, किरीयापुत्री भवन बनाउन समस्या रहेको, मन्दिरको पुनःनिर्माण र व्यवस्थापन गर्न समस्या रहेको, प्रस्तावित स्वीमींग पुल बनाउने, पार्क बनाउने, गौ संरक्षण स्थल बनाउने, पिकनिक स्पटलाई थप व्यवस्थित बनाउने जस्ता कार्यहरु प्राथमिकतामा परेर पनि सोंचे अनुरुप गर्न सकिएको छैन । यसका लागि ईच्छुक सहयोगदाताले मन फुकाएर सहयोग गर्न मन्दिर व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष युक्तप्रसाद गौंडेलले सार्वजनिक रुपमा सहयोगका लागि अपिल गरेका छन् ।
साथै उनले सहयोगदाताबाट प्राप्त सहयोगको आम्दानी र खर्चको विवरण दुरुस्त राखिएको, सहयोगदाताको इच्छामा नाम सार्वजनिक गर्ने गरिएको, शिलालेखमा नाम लेख्ने गरेको र बैंक मार्फत कारोबार गर्ने गरिएकाले सहयोगको दुरुपयोग होला कि भन्ने कुरामा कुनै आशंका नराखी सहयोग गर्न अनुरोध गरिएको अध्यक्ष गौंडेलले पुनः व्यक्त गरेका छन् ।
अन्तमा,
व्यापक सम्भावना बोकेको, सुन्दर वातावरणमा अवस्थित धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित हुँदै गरेको यस मन्दिरले हालसम्म गरेको प्रगति प्रशंसनीय छ । मन्दिर व्यवस्थापन समितिलाई अझै जोस र जाँगर प्राप्त भइरहोस् शुभकामना ।
अर्कोतर्फ बोलबम जस्ता सांस्कृतिक महत्वका प्रचलनले व्यक्तिलाई आध्यात्मिकतातर्फ आकर्षित गर्ने, सात्विक भोजन सेवनका कारण शरीरको शुद्धीकरण हुने, मनमा शान्ति अनुभव हुने, शरीरमा ऊर्जा प्राप्त हुने, व्यक्तिलाई सामाजिक बन्न अभिप्रेरित गर्ने, आन्तरिक पर्यटकमा वृद्धि हुने, आत्मिक शुद्धता प्राप्त हुने जस्ता असिमीत स्वास्थ्य लाभहरु पनि प्राप्त हुने, स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि दुषित खानपान, अप्राकृतिक वा कृत्रिम जीवनशैलीबाट केही समयका लागि भए पनि शरीरले आराम पाउने र शरीरको शुद्धीकरण गराउने यस्ता संस्कृति मनाउनु, जगेर्ना गर्नु, थप सुधार गर्दै लैजानु अहिलेको आवश्यकता पनि हो ।
यसरी बहु चिनारी भएको यो क्षेत्रको विकास र सम्बर्धन गर्नु समेत अपरिहार्य देखिन्छ । यसले नेपाली संस्कृतिलाई विश्व सामु चिनाउन, नयाँ स्थलहरुको परिचय गराउन, आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन समेत सहयोग पुग्ने हुँदा पश्चिमी शैली भित्रिइरहेको अहिलेको समयमा बोलबम जस्ता चाडबाड मनाउनुको सान्दर्भिकता समेत रहेको दाबी गर्न सकिन्छ । आध्यात्मिक बनौं, शारीरिक तथा मानसिक शान्ति प्राप्त गरौं । अस्तु
लेखक मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीका प्रध्यापक हुन् ।









