नवलपुर, असार २६ गते । यातायात व्यवस्था कार्यालय कावासोती, नवलपुरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । कार्यालयले अनलाइनबाट लाइसेन्सको परीक्षा लिन सुरु गरेको देशभरमा यो नै पहिलो पटक भएको बताएको छ ।
नयाँ सफ्टवेर प्रणालीको विकास कार्यालयका कम्प्युटर अपरेटर प्रदिप सापकोटाको एकल प्रयासमा भएको र अन्य आर्थिक तथा भौतिक सहयोग कार्यालयले गरेको कार्यालयका निमित्त प्रमुख टेक बहादुर नेपालीले जानकारी दिए ।
नयाँ प्रणालीको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले समयसँगै नयाँ प्रविधिको विकास गर्न सकिएकोमा खुशी व्यक्त गरे । उनले अनलाइनबाट लाइसेन्सको लिखित परीक्षा लिने कावासोती पहिलो कार्यालय भएको उल्लेख गरे । अनलाइनबाट लिखित परीक्षा लिन सुरु गरेपछि अव परीक्षा निष्पक्ष हुने र झन्झटिलो नहुने पनि विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव नरनाथ शर्माले आगामी आर्थिक वर्षदेखि लिखित परीक्षाको अनलाइन सेवालाई गण्डकी प्रदेशभरी र अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने बताए । त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको उनको भनाइ छ ।
सफ्टवेर विकास गरेका सापकोटाले यो प्रविधिले पारदर्शिता कायम हुने, सेवाग्राही पटक पटक कार्यालय आउने झन्झट नहुने र यसलाई थप परिस्कृत गर्दै लैजान सकिने बताए । यो प्रविधिबाट एक पटकमा २४ जनाले लिखित परीक्षा दिन सक्ने कार्यालयले जनाएको छ । अनलाइनबाट लिखित परीक्षा लिने काम आजैदेखि सुरु गरिएको छ । आज एकैदिन ५३ जनाले परीक्षा दिएका छन् ।









