रमेश बस्ताकोटी
नवलपुर, भदौ ७ गते । नवलपुर जिल्लाका होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्वन्धी अभिमुखिकरण कार्यक्रम अमलटारीमा सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको आयोजना तथा नवलपुर होटल व्यवसायी संघको सहयोगमा नवलपुरका रिसोर्ट तथा होटल व्यवसायीहरूका लागि “खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टको स्तरीकरण” बिषयक अभिमुखीकरण तालिम सम्पन्न भएको होटल संघका अध्यक्ष सन्तोष रानामगरले जानकारी दिए ।
हिमालयन चितवन सेन्चुरी रिसोर्टमा आयोजित उक्त कार्यक्रममा अमलटारी, देवचुली, मध्यविन्दु र विनयीत्रिवेणी क्षेत्रमा सञ्चालित जङ्गल रिसोर्ट, इला कम्फोर्ट तथा मिराया लगायतका रिसोर्टका सञ्चालकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षण अधिकारी अशोक गौतमले होटल स्तरीकरणका लागि आवश्यक ५० बुँदे मापदण्डबारे प्राविधिक सहजीकरण गर्नुभएको थियो। उहाँले किचनको भौतिक संरचना, सरसफाइको स्तर र आवश्यक अभिलेख व्यवस्थापनबारे व्यावहारिक जानकारी गराए ।
अभिमुखीकरणपश्चात् सहभागी रिसोर्ट सञ्चालकहरूले आ-आफ्नो व्यवसायको स्वमूल्याङ्कन समेत गरेका थिए। अब छिट्टै टोलीले आकस्मिक रूपमा अनुगमन गरी होटलहरूको वर्गीकरण (लोगो वितरण) कार्य अघि बढाउने जनाइएको छ।
यसैबिच स्तरीकरण अभियानलाई प्रभावकारी बनाउन संघका सन्तोष राना मगरको संयोजकत्वमा स्थानीय खाद्य स्वच्छता समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। समितिमा कावासोती वडा नं. १५ र १७ का वडाध्यक्षहरू, समाजसेवी डी.बी. चौधरी र फन्सराम महतो लगायत छन् ।
कार्यक्रमका प्रमुख अतिथि कावासोती-१७ का वडाध्यक्ष चुडामणी थनेतले ५० वटा सूचकाङ्क प्रत्येक नेपालीको भान्साका लागि उपयोगी रहेको बताउँदै पालिका स्तरमै फुड सेफ्टी कर्मचारी आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगर, वडा नं. १० का वडाध्यक्ष टेक नारायण महतो, कावासोती नगरपालिका पर्यटन शाखाका फोकल पर्सन राम बराल, होमस्टे महासंघ गण्डकी प्रदेश अध्यक्ष धनीराम गुरौ लगायतका वक्ताहरूले यस अभियानले नवलपुरको पर्यटन क्षेत्रलाई सुरक्षित र गुणस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।









