नवलपुर, असोज ६ गते । नारायणघाट–बुटबल सडक विस्तारको काम लगभग सकेर सरकारलाई हस्तान्तरण गर्नुअघि नै बिग्रिएपछि निर्माण कम्पनीले पुनः मर्मतको काम सुरु गरेको छ । उक्त सडकको चोरमारा, अरुणखोला लगायतका क्षेत्रमा सडक भासिएपछि पुर्ननिमाणको काम सुरु गरिएको हो ।
यी खण्डमा सडक झट्ट हेर्दा एकनासको जस्तो देखिए पनि दुई तीन ईन्च केही दबेको र केही भाग उठेको ट्रापिक प्रहरीले जनाएको छ । जसले गर्दा दुई पांग्रे र तीन पांग्रे सवारी साधनमा दुर्घटनाको जोखिम बढेको भन्दै चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.ली.ले मर्मतको काम सुरु गरेको हो ।
चोरमारा खण्डमा झण्डै नौ सय मिटर बाटो दबिएको र उठेको ठेकेदार कम्पनीका इन्जिनियर ओपेन्द्र मुखियाले जानकारी दिए । बिग्रेको बाटोको माथिल्लो भागको पिच निकालेर ममर्त गर्न थालिएको र यति गर्दा पनि समस्या समाधान नभए थप पिच निकालेर मर्मत गरिने उनको भनाइ छ ।
सडकको प्राय उकालो र ओरालो खण्डमा समस्या देखिएको छ । ठेकेदार कम्पनीले बढी भार बोकेका गाडी र सडकको भूबनोटका कारण बाटो बिगिएको हुन सक्ने बताएको छ । अरु ठाउँमा मर्मत गरिसकिएको र चोरमारा खण्डमा पनि दुई तीन दिनमा काम सकिइसक्ने मुखियाले बताए ।
नारायणघाटदेखि बुटबलसम्मको झण्डै ११४ किलोमिटर सडकमध्ये बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक विस्तार भएको हो । १७ अर्ब रुपियाँमा चिनियाँ ठेकेदार कम्पनीले ठेक्का लिएको यो सडक पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।









