काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका- १७ घर भई होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका- ३ घर भएका १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले शुक्रबार धारिलो हतियार प्रहार गरेका हुन्।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न शेखरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका प्रमितको खोजी भइरहेको प्रहरीले जनाएको छ।









