बोमलाल गिरी
नवलपुर, भदौ ४ गते । भदौ २ गते बिहान ७ बजेको समय । न पानी न घाम । मौसम सामान्य थियो । नवलपुरको गैँडाकोट नगरपालिका–१४ की हेमकुमारी आले अरु दिन जस्तै घरभन्दा केही माथि रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न जाने निधो गरिन् । हसिया र सानो झोला भिरेर उहाँ अघि लागिन् । साढे दुई वर्षको नाती शिवान तामाङ रुदै–रुदै आफ्नो पछि लागेको हेमकुमारीलाई पत्तै भएन ।
घरभन्दा केही माथि पुगेपछि नाताले शिवानका हजुरबुवा पर्ने एक जनाले सोधे । बाबु कता जान लागेको ? हजुरआमा त अगाडी गइसक्नु भयो ।
शिवान केही नबोली अघि बढे ।
उनी हजुर आमालाई पच्छ्याउने प्रयासमा थिए । जुन कुरा शिवानकी हजुर आमालाई पत्तै थिएन । हजुर आमा जंगल गइन्, च्याउ टिपिन् र घर पनि फर्किइन् ।
सायद बाटो फरक परेछ होला हजुरआमा र नातीको बाटोमा कतै भेट भएन । हजुरआमा घर फर्कदा नाती शिवान घरमा थिएनन् । सोधखोज भयो । गाउँभरी हल्ला भयो । गाउँलेले सम्भावित शिवान गएको हुन सक्ने बाटो पच्छ्याउँदै जंगलभरी खोजे । तर कतै भेटेनन् ।
फर्केर इलाका प्रहरी कार्यालय गैँडाकोटलाई खवर गर्दा दिउँसोको २ बजिसकेको थियो । गैँडाकोटले नजिकैको इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोष्ट बेल्डियालाई पनि खबर गर्यो । साथै शसस्त्र प्रहरी बललाई पनि जानकारी गराइयो ।
यति गर्दा झण्डै ५० जनाको प्रहरी टोली र झण्डै दुईसय जना स्थानीय गरी दुई सय ५० जनाको टोली शिवानलाई खोज्न जान तयार भयो । टोलीले टर्च लाइट बालेर राति ८ बजे बजेसम्म खोजतलास गर्यो ।
तर कतै पत्ता लागेन । निराश भएर टोली घर घर फर्क्यो।
अर्को दिन भदौ ३ गते पनि सोहि तालिका अनुसारको खोजतलास जारी रह्यो । दुई सय ५० जनाको टोलिले जंगलका हरेक कुना कुना खोज्यो । अँह शिवान कतै भेटिएनन् ।
भदौ ४ गते पनि अघिल्लो दिन जस्तै ठूलो संख्यामा खोजीका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय गरी साढे दुई सय जनाको टोलि परिचालन भयो ।
खोज्न जाने सबैको मनमा एउटै कुरा खेलिरहेको थियो । शास नभए शिवानको लास भए पनि भेट्न पाए हुन्थ्यो । खुशीको कुरा यो पटक (भदौ ४ गते बिहान १० बजे) शिवान भेटिए, गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनको भागर खोलाको सिरानको कुनै कोप्चेरोमा रुदै गरेको अवस्थामा ।
सबै खुशी भए । बच्चासँग अंकमाल गरे । शिवानलाई तत्काल भरतपुरको सरकारी अस्पताल पुर्याइयो । चेक जाँच गरियो । शरीरका विभिन्न भागमा फोका परेको बाहेक उनको स्वास्थ्यमा कुनै समस्या देखिएन । स्वास्थ्य सामान्य छ । ‘‘म भर्खरै शिवानलाई भेटेर आँए । उनी ठिक छन्, स्वास्थ्य अवस्था राम्रो छ । चिन्ता मान्नु पर्ने केही छैन,’’ इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षक लक्ष्मण गिरीले भने ।








