कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ।
सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिक ट्रकले ठक्कर दिँदा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सापकोटाको मृत्यु भएको सोही वडाका अध्यक्ष मिठुन गौतमले जानकारी दिए ।
वडाध्यक्ष गौतमका अनुसार मुडास्थित घरमा पूजाआजा गरी बौनियातर्फ जाँदै गर्दा आफ्नो लेनमा स्कुटर चलाइरहेकी सापकोटालाई ट्रकले ठक्कर दिएको थियो।
से १–०१–००१ ख नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रक नवलपरासी (बर्दघाट) का २६ वर्षीय दिनेश गिरीले चलाएका थिए ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएको सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन् ।









