दुना-टपरीबाट करोडौंको व्यापार, एघार सयलाई रोजगारी (भिडियोसहित)

बोमलाल गिरी

नवलपुर, भदौ १ गते । नवलपुरको कावासोती –१६ डण्डामा तीन दशकअघि स्थापना भएको दुना–टपरी उद्योग अहिले करोडौंको व्यापार गर्ने व्यवसायको रूपमा स्थापित भएको छ ।

जंगलमा झरेर खेर जाने प्राकृतिक पातको प्रयोग गरी उत्पादन गरिने दुना–टपरीले स्वदेशी बजारमा मात्र नभइ विदेशमा समेत बजार विस्तार गरेको छ । उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एघार सयभन्दा बढीलाई रोजगारी दिएको उद्योगको सञ्चालक बासुदेव गिरीले जानकारी दिए ।

इन्द्रदेव दुना–टपरी उद्योगको बासुदेवका बुवा सञ्जय गिरीले २०५३ सालमा स्थापना गरेका थिए । बुवाले सुरु गरेको व्यवसायलाई अहिले छोराले निरन्तरता दिइरहेका छन् । सुरुमा भारतबाट ल्याइएको मेसिनले नेपाली बजारका लागि आवश्यक गुणस्तर र आकारका दुना–टपरी उत्पादन गर्न नसकेपछि उद्योगले आफ्नै प्रविधि विकास गरेको जनाएको छ ।

‘‘सुरुमा खुट्टाले चलाउने मेसिनबाट उत्पादन सुरु गरिएको थियो, समयक्रमसँगै त्यसलाई आधुनिक बनाउँदै लगिएको छ, सञ्चालक गिरीले भने । प्रविधिमा सुधार भएपछि उत्पादन क्षमता बढ्नुका साथै पहिले हात काटिनेजस्ता समस्या पनि हटेको उनको भनाइ छ ।

उद्योगले कुनै पनि रासायनिक पदार्थ प्रयोग नगरी जंगलमा खेर गएका प्राकृतिक पातबाट दुना–टपरी उत्पादन गर्दैआएको छ । पात टिप्ने, खुट्ने र सुकाउनेदेखि मेसिनमा तातो दिएर आकार दिने काम प्राकृतिक प्रक्रियाबाटै हुने गरेको छ । उत्पादनको क्रममा तापक्रमको उचित व्यवस्थापन भने महत्वपूर्ण हुने गिरी बताउनुहुन्छ । तापक्रम नमिल्दा दुना–टपरी कुहिने समस्या आउन सक्छ ।

उच्च गुणस्तरका दुना–टपरी कार्टुनमा र सामान्य उत्पादन बोरामा प्याक गरी बजारमा पठाउने गरिएको छ । कुनै समय पूजाआजा र धार्मिक कार्यका लागि मात्र प्रयोग हुने दुना–टपरी अहिले होटल, रेस्टुरेन्ट, ठेलागाडा तथा सडक खाना व्यवसायमा समेत प्रयोग हुन थालेको गिरीले बताए ।

विशेषगरी मःम, चाउमिन, चटपटेलगायतका परिकार बिक्री गर्ने ठेलागाडा व्यवसायीले प्लास्टिकको प्लेटको विकल्पका रुपमा दुना–टपरी प्रयोग गर्न थालेका छन् । प्लास्टिकको प्लेटको तुलनामा दुना–टपरीमा तातो खाना राख्दा नचिप्लिने, पानी तथा झोल पदार्थ नचुहिने र प्रयोगपछि वातावरणमा असर नगर्ने भएकाले यसको माग बढेको गिरी बताउँछन् ।

“दुईवटा दुना–टपरीले एउटा प्लास्टिकको प्लेटलाई विस्थापित गर्न सके पनि विदेश जाने पैसा केही हदसम्म रोक्न सकिन्छ” गिरी भन्छन्, “जंगलमा खेर जाने पातको उपयोग हुन्छ, श्रमले मूल्य पाउँछ र वातावरण पनि जोगिन्छ ।”

प्राकृतिक रूपमा झरेर खेर जाने पातलाई उपयोग गर्ने भएकाले उद्योगले वातावरण संरक्षणमा समेत योगदान दिएको उनको भनाइ छ । प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन दुना–टपरी प्रभावकारी विकल्प बनेको उहाँका बुवा सञ्जय गिरीले बताए ।

सुरुमा पूजाआजाका लागि मात्र प्रयोग हुने दुना–टपरीलाई खाना खानका लागि प्रयोगमा ल्याउन उद्योगले काठमाडौं, पोखरा बुटबललगायत देशको प्रमुख सहरमा पहल गरेको थियो । त्यस क्रममा व्यवसायी तथा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाएपछि यसको बजार विस्तार भएको सञ्जयले बताए ।

हाल उद्योगबाट उत्पादित दुना–टपरी अमेरिका, युरोप, अस्ट्रेलिया, जापानलगायत १० देशमा निर्यात हुँदैआएको उनीहरुको भनाइ छ । विदेशमा रहेका नेपालीले न्वारन, व्रतबन्ध, पूजापाठ लगायत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग गर्न अनलाइनमार्फत दुना–टपरी खरिद गर्ने गरेका छन् ।

गिरीले उच्च शिक्षा हासिल गरेपछि विदेश जाने सोचसमेत बनाएका थिए । तर आफ्नै व्यवसायप्रति साथीभाइ र समुदायबाट आएको सकारात्मक प्रतिक्रियाले विदेश जाने चाहना हटेको उनी बताउँ५न् । “आफूसँगै पढेका साथीहरूले यो त निकै राम्रो काम रहेछ भनेर प्रशंसा गर्न थाले, त्यसपछि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास पलायो र विदेश जाने रहर हरायो” दुई विषयमा स्नातकोत्तर गरेका गिरीले भाे ।

उद्योगमा प्रत्यक्ष रुपमा ११० जना कामदार कार्यरत छन् । यसबाहेक गाउँ–गाउँमा रहेका करिब एक हजार घरपरिवार दुना–टपरीका लागि पात टिप्ने, खुट्ने र सुकाउने काममा संलग्न रहेका बासुदेवले बताउनुभयो । विशेषगरी ग्रामीण क्षेत्रका महिलालाई घरमै बसेर आम्दानी गर्ने अवसर मिलेको छ । “गाउँमा न्यून आम्दानी भएका एक हजार महिलालाई रोजगारी दिन सक्नु मेरो लागि सबैभन्दा आनन्दको क्षण हो” उनले सुनाए ।

पात संकलनदेखि उत्पादन र बजार व्यवस्थापनसम्म स्थानीय श्रमको प्रयोग हुने भएकाले उद्योगले ग्रामीण अर्थतन्त्रमा समेत योगदान दिएको उनीहरुको भनाइ छ । उद्योगको वार्षिक कारोबार करोडौं रुपैयाँ रहेको सञ्चालकको भनाइ छ ।

स्थानीय स्रोत, प्रविधि र श्रमको प्रयोग गरेर सुरु गरिएको यो व्यवसाय अहिले स्वदेशी उत्पादनको उदाहरण मात्र बनेको छैन, वातावरणमैत्री उद्योगका रूपमा समेत विस्तार हुँदै गएको छ । जंगलमा त्यसै खेर जाने पातलाई आम्दानीको स्रोतमा परिणत गर्दै स्वदेशमा रोजगारी सिर्जना र विदेशमा नेपाली उत्पादनको बजार विस्तार गर्न सफल भएको उद्योगले जनाएको छ ।

हेर्नुहोस् भिडियो