नवलपुर, असोज १४ गते । नारायणी नदीले गत आइतबार बगाएर ल्याई नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज जहाज निकाल्न सकस भएको छ । विज्ञ टोलीले लामो प्रयास गर्दा पनि क्रुज निकाल्न सफल नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
क्रुजलाई ८० र ५० टनका दुईवटा क्रेन र एउटा र्याकरले तानेर पुलको पिलरबाट छुटाइए पनि बाहिर भने अझै निकाल्न सकिएको छैन । क्रुज ६० टनको भए पनि तान्न मिल्ने पोजिसनमा नभएकाले समस्या हो । अव सञ्चालक आफैले अझै बढी क्षमताका क्रेन मगाएर क्रुज तान्ने सहमति भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि क्रुज सञ्चालनमा आएको थियो । नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालनमा ल्याएका थिए ।
राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले सरकारले सहयोग गरेमा फेरी क्रुज सञ्चालन गर्न सकिने बताए । उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यकपर्ने उनको भनाइ छ । साढे दुईतले क्रुजको लम्बाई ९५ फिट र चौडाई २१ फिट रहेको छ ।
क्रुजको पूरा क्षमता दुई सय जनासम्म भएपनि एक सय ५० जनालाई सुविधा उपलब्ध गराँदै आएको सञ्चालकको भनाइ छ । क्रुजिङका लागि साधारण टिकट पाँच सय रुपैयाँ तोकिएको थियो भने ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार तथा डिनर क्रुजिङको तीन हजार एवं अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको थियो ।









