चितवनः असोज १४ गते । गत असोज ८ देखि चार दिनसम्म भएको वर्षा र नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा क्षति पुगेको छ। बाढीले कक्षाकोठाभित्र लेदो–माटो भित्र्याएपछि पठनपाठन ठप्प भएको छ।
बाढीले ल्याएको माटो जमेकाले साबेलले पन्छाउन पनि धौ–धौ परेको छ। विद्यालय आसपासका स्थानीय आफ्नै घरभित्र पसेको हिलो सोहोर्न व्यस्त रहेकाले ज्याला दिएर काम गराउन मजदुरसमेत पाउन सकेको छैन। बाह्य सहयोग नभई शिक्षिका, कर्मचारीले मात्र सरसफाइ गर्दा समय लाग्ने देखिएको छ।
समस्या समाधानका लागि वडा कार्यालय, भरतपुर महानगरपालिका, महानगरको शैक्षिक शाखा तथा वीरेन्द्र क्याम्पस अगाडिको सेनाको ब्यारेकलगायत सम्भावित सबै निकायमा पुगेर सहयोगको याचना गरिएको छ। तर, सबै निकायबाट आश्वासन मात्र प्राप्त भएको र अहिलेसम्म उद्धार वा सरसफाइका लागि कसैले पनि मानिस नपठाएको विद्यालयको गुनासो छ।
महानगरपालिकाबाट आएको दमकलले दुई दमकल पानी हालेर विद्यालयको माथिल्लो पेटी सफा गरेपनि कक्षाकोठा अझै हिलाम्मे छन्। २०७१ मङ्सिरदेखि सोही विद्यालयमा सेवारत प्रधानाध्यापक शान्ता अधिकारीका अनुसार विद्यालयले हरेक वर्ष बाढीको समस्या भोग्दै आएको छ। यो विद्यालयमा १ सय २० जना विद्यार्थी अध्ययनरत छन्।









