चार दिनको वर्षाले मुलुकभर के-के भयो क्षति ?

काठमाडौं, असोज १३ गते । बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म भएको वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो स्थिति प्रतिवेदन सार्वजनिक गर्दै यो जानकारी दिएको हो । प्राधिकरणका अनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्।

यी घटनामा परी ४ जना बेपत्ता छन् भने ८ जना घाइते भएका छन्। विपद्बाट देशभर १,०८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

पहिरोले सबैभन्दा धेरै मानवीय क्षति

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मानवीय क्षति पहिरोका कारण भएको छ। देशभर गएका ३०४ वटा पहिरोका घटनामा मात्रै २० जनाको ज्यान गएको छ ।  ४ जना बेपत्ता र ७ जना घाइते भएका छन्।

यसैगरी, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ। भारी वर्षासँग सम्बन्धित १५१ वटा घटनामा ३ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन्।

क्याम्प खडा गर्ने उद्देश्यले हिमलुङ हिमालतर्फ गएका २२ जना नेपालीको टोलीमध्ये हालसम्म ४ जनाको शव फेला परेको र हेलिकप्टरमार्फत हवाई खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। कृषि र पशुपालनतर्फ पनि विपद्ले असर गरेको छ। देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ वटा पशुचौपायाको मृत्यु भएको छ।

भौतिक संरचना र पूर्वाधारमा ठूलो क्षति

वर्षाले देशभरका भौतिक संरचना र सडक सञ्जालमा ठूलो क्षति पुगेको छ । प्राधिकरणका अनुसार विपद्मा परी २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ।

बाढीले देशभरका १० वटा पुलमा क्षति भएको छ । बागलुङमा कालीगण्डकी नदीको पुल बगाउँदा यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएको छ। म्याग्दी जिल्लामा करिब ४०० मिटर सडक कटानमा परेको छ भने विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।