दीपक मनाङेलाई शशांकले गरे कांग्रेसको देउवा समूहमा स्वागत

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङलाई नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट गठित महाधिवेशन तयारी समितिका संयोजक डा. कोइरालाले मंगलबार मनाङेलाई पार्टीमा प्रवेश गराएका हुन्। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दै छ।

यससँगै मनाङेलाई मनाङ जिल्लामा अधिवेशनका लागि जिम्मेवारी पनि दिइएको छ। उनलाई मनाङको अधिवेशन आयोजक समितिको संयोजक बनाइएको छ।

मनाङे २०७९ सालको प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी मन्त्री पनि बनेका थिए। तर, सर्वोच्च अदालतले उनलाई सांसदबाट पदमुक्त गरेको थियो।