राइनो क्रुज बगेर नारायणी पुलमा अड्कियो, पुलको सुरक्षामा उच्च जोखिम

नारायणी नदीले किनारमा राखिएको राइनो क्रुज बगाएको छ । बगाएको क्रुज नारायणीको पुलमा गएर अड्किएको छ । नेपालकै पहिलो र ठूलो क्रुज बगेर पुलको पिलरमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए ।

क्रुजलाई तान्न सक्ने सम्भावना नरहेकाले क्रेनको सहायताले फुटाएर बगाउने प्रयास भइरहेकाे सहायक प्रजिअ रानाले बताए । तर रात परिसकेको र नारायणीमा पानीको बहाव कम नभएकाले चुनौती झनै थपिएको रानाले बताए ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि क्रुज सञ्चालनमा आएको थियो । नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित ५० करोड लागतमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालनमा ल्याएका थिए ।

गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत नबगेको क्रुज अहिलेको नारायणीले बगाएपछि पुलको पिलर भाँचिने जोखिम बढेको इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षण लक्ष्मण गिरीले बताए ।

साढे दुईतले क्रुजको लम्बाई ९५ फिट र चौडाई २१ फिट रहेको रिभर क्राउन प्रालिका प्रवन्ध निर्देशक दीपक ढुंगेलले बताए । क्रुजको पूरा क्षमता दुई सय जनासम्म भएपनि एक सय ५० जनालाई सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।