नवलपुर, असोज १० गते । नारायणी नदीमा पानीको बहाब तिब्र गतिमा बढ्दै गएपछि गण्डक ब्यारेजमा पानीको सतह खतराको तहमाथि पुगेको छ । गण्डक जलमापन केन्द्रका अनुसार दिउँसो ४ बजेसम्म गण्डक ब्यारेजमा पानीको सतह बढेर ३ लाख ४ हजार क्युसेक पुगेको छ ।
नारायणी नदीलाई त्रिवेणी र भारतमा गण्डकका नामले चिनिन्छ । पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिएको छ । गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ ।
गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटरभन्दा माथि पुगेको बेला भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ३६ वटा ढोका खोलेको हो । लगातारको वर्षाले गण्डकमा नदीको सतह बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो ।
यता नारायणी नदी पनि खतराको तह नजिक पुगेको छ । देवघाट जलमापन केन्द्रको दिउँसो ४ बजेसम्मको विवरणअनुसार ८.९४८ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।
नारायणीको जलाधार क्षेत्रका त्रिशूली, मस्र्याङ्दी, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढीले चेतावनीको तह पार गरेका छन् । तल्लो तटिय क्षेत्र र नदी आसपास डुबान भईरहने होचा ठाउँका बासिन्दालाई प्रहरीले माइकिङ गरेर सुरक्षित स्थानमा जान भनिरहेको छ ।
हेर्नुहोस् भिडियो









